सिन्दुरे जात्रा

22 Apr 2024 1 min read No comments जात्रा
Featured image

सांस्कृतिक नगरी नुवाकोटको टोल-टोलमा, घर-घरमा छरिएको जात्राको रौनकले नगर रमाइलो देखिन्छ। नुवाकोटलाई धार्मिक एवम् सांस्कृतिक निधिको रुपमा पनि हेर्न सकिन्छ । यहाँ अनेकौं देवी देवताका मन्दिरहरु छन् ।

काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनेजस्तै नुवाकोटलाई पनि मन्दिरै मन्दिरको गाउँ भन्न सकिन्छ । यहाँ देवी भैरवी, तुलजा भवानी, नारायण, विष्णु, खाल्टादेवी, भगवती, सरस्वती, नाट्यश्वरी, बुढीभैरवी, भीमशेन, गणेश, महादेव, भैरव, गोरखनाथ, कालिका, मालिका लगायत थुप्रै देवताका मन्दिर छन् । त्यस्तै, बौद्ध बिहार पनि रहेका छन् ।

यी देवतामध्ये देवी भैरवी सबैभन्दा ठूलो छ । साथै, यो कलात्मक पनि छ ।

नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल-चीन युद्ध हुँदा राजा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताहरुले गर्दै आएका छन् ।

भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रुपले अपरम्पार छ । देवी जात्रा अर्थात् सिन्दुरे जात्रालाई यस क्षेत्रमा विशेष महत्वसाथ हेरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दुरे जात्रा धूमधाम साथ मनाइन्छ । यो जात्रा फागु पूर्णिमादेखि सुरु भएर महिनासम्म चलिरहन्छ । फागु पूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ । र, यस दिनदेखि पुजारीहरुले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धूमधामका साथ मनाइन्छ। यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ले गर्छ ।

सिन्दुरे यात्रालाई प्रत्येक वर्ष परम्परागत रुपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारहरुको व्यवस्था हँुदै आएको छ। हालका धामी हरिमानसिंह डंगोल उनका बाह्रौं पुस्ताका हुन् ।

राष्ट्रप्रमुखको अनुमतिविना नुवाकोटको त्रिशूली, सामरी, तादी, लिखु नदी पार गर्न नहुने प्रचलन रहेको छ । यो प्रचलन मल्लकालीन समयभन्दा अघिदेखि रहेको स्थानीय समाजसेवी तथा नुवाकोट जेष्ठ नागरिक संघका अध्यक्ष यज्ञराज केसी बताउँछन् ।

चैत्रशुक्ल पूर्णिमाका दिन बेलु्का धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधिबाट सुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि भेषभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् ।

चैत शुक्ल चतुर्दर्शीको दिन बेलुका बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिरको पछाडि एक-एक वटा लिङ्गो गाड्ने गरिन्छ । लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन लिङ्गोको लम्बाइअनुसार त्यति गहिरो छैन ।

पहिले लिङ्गो गाड्ने काम स्थानीय व्यक्तिहरुबाट हुन्थ्यो । केही वर्षदेखि नेपाली सेनाद्वारा गाड्ने गरिएको छ । सामान्य बुद्धि लगाएर लिङ्गो गाड्न सकिँदैन। लिङ्गो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रुप धारण गरी आसन जमाएर बसिरहनु पर्दछ । यो अवधि धामीको लागि कष्टकर हुन्छ। तर, भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । यो लिङ्गोहरु वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ ।

प्रतिपदाको दिन विशेष बाजागाजा साथ धामीधमिनी र गणहरुलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी भूकम्पले तहसनहस बनाएपछि र बर्खाको पानीले ढलेको छ , यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि देवीघाट (जालपा मन्दिर) तर्फ प्रस्थान गर्दछन् । खटमा भैरव(भैरवी र अष्टमातृकाका मूर्तिहरु राखिएको हुन्छ। गत वर्ष भैरवी गुठीका गुठियार रहेका लत्याङ्गबासीले रथ बोक्न अस्वीकार गरेपछि नेपाली सेनाले रथ बोकेका थिए । लच्याङ्गबासीले आफूहरुले भोकचलन गर्दै आएको गुठी जग्गा रैकर गरिनु पर्ने तथा आफ्नो नाममा जग्गाधनीपुर्जा बनाइनुपर्ने माग गर्दै रथ बोक्न अस्वीकार गरेपछि सदियौंदेखिको प्रचलन तोडिएको हो ।

देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही) मार्फत पुर्‍याइन्थ्यो भने हाल राष्ट्र प्रमुखसमक्ष पुर्‍याउने गरिन्छ ।

देवीघाटको मेला सकिएपछि धामीधमिनी लगायत अन्य गणहरु बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । भोलिपल्ट अथवा द्वितीयाको दिन दिउँसो २ बजेतिर जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको उपस्थितिमा दुई सलामी (निशान झण्डा र भैरवी सलामी) दिइन्छ । यो यात्रा देवी भैरवी मन्दिरनिर महिषमर्दिनी मन्दिर पुगेपछि धमिनीलाई सिन्दुर हालिन्छ र यसले सिन्दुरे जात्राको रुप लिन्छ ।

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरुलाई मन्दिरमा पुनःस्थापना गरिन्छ । विगत र अहिले जात्रामा धेरै फरक देखिए पनि जात्रामा आउने उत्साह भने एकै रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । स-साना केटाकेटीदेखि बृद्धबृद्धा सबै जात्रामा उत्साही हुन्छन् ।

Nuwakot Info
Author: Nuwakot Info

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ